News 'ऐतिहासिक गोलकर्ता' दर्शन पनि विदेशिए
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ कुवेत विरुद्ध गत जुन ११ तारीखका दिन उसकै घरमा ४० वर्षपछि ऐतिहासिक गोल गरेका युवा फरवार्ड दर्शन पनि सुनौलो भविष्यका लागि विदेशिएका छन् । २० वर्षिय दर्शन आफ्नो भविष्य सुनिश्चित गर्न अष्ट्रेलियातर्फ लागेका हुन् ।

सन् १९८२ मा कुवेत विरुद्ध वाईबी घलेले गोल गरे यता कुनै नेपाली खेलाडीले कुवेती टोलीसँग गोल गर्ने सफलता हासिल गरेका थिएनन् । यद्यपि त्यो ऐतिहासिक उपलब्धीलाई दर्शनले गत जुन महिनामा कुवेती मैदान मै हात पारेर सबै नेपालीहरुको वाहवाही बटुलेका थिए ।

तर दुर्भाग्य मान्नुपर्छ, राम्रो लय र सम्भावना हुँदाहुँदै पनि नेपाली फुटबलमा भविष्य नदेखेपछि दर्शनले पनि विदेशिनुलाई उत्तम विकल्पका रुपमा रोजेको देखिन्छ । स्मरणीय छ, गत महिना मात्रै नेपालका दुई अन्तर्राष्ट्रिय खेलाडी सुमन लामा र आशिष लामा पनि अष्ट्रेलिया पुगिसकेका छन् ।

दुई वर्ष अघि ढाकामा बंगलादेश विरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालका लागि डेब्यु गरेका दर्शन त्यसयता राष्ट्रिय फुटबल टोलीका सम्भावना बोकेका खेलाडीहरुमा गनिन थालेका थिए । तर उनको सम्भावना अब फेरि अपुरो बन्ने निश्चित बनेको छ ।

Post Comments