News सम्झौता रद्द गरेँसँगै अन्यौलमा नेपाल सुपर लिग
गोलनेपाल

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) सँगको सम्झौता अखिल नेपाल फुटबल संघ (एन्फा) ले रद्द गर्ने निर्णय गरेको छ ।

सुपर लिगको आयोजनालाई लिएर असन्तुष्टी जनाउँदै आएका केही ए डिभिजन क्लब र वर्तमान एन्फाका पदाधिकारीहरु बीच शुक्रबार भएको आवश्यक छलफल पश्चात सो सम्झौता रद्द गर्ने निर्णय भएको हो ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. को आयोजनामा सुपर लिगको पहिलो संस्करण सम्पन्न भईसकेको छ । एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्व रहँदा एनएसएलको दोस्रो संस्करण आयोजना गर्न आउँदो भदौ २५ देखि कार्तिक ५ गतेसम्मको मिति दिइएको थियो ।

तर तत्कालिन एन्फा नेतृत्व र एनएसएलबीच भएको सम्झौतामा केही त्रुटीहरु रहेको निष्कर्ष निकाल्दै सो सम्झौता रद्द गर्ने निर्णयमा पुगेको एन्फाका एक पदाधिकारीले बताए । एन्फाका उपाध्यक्ष बिर बहादुर खड्काका अनुसार एनएसएल र तत्कालिन एन्फा नेतृत्वबीच प्रतियोगिता आयोजना गर्ने चार वर्षे सम्झौता भए तापनि सम्झौता गरिएको मिति भने नखुलाइएको बताए ।

त्यस्तै एनएसएलमा सहभागि टोलीहरुले आ–आफ्नो सम्बन्धित प्रदेशमा फुटबल विकासमा सकेको काम गर्ने सम्झौता भए तापनि सो सम्झौता अनुरुप पनि काम नभएको खड्काले बताए ।

यद्यपि एन्फा र नेपाल सुपर लिगको आयोजक र सम्बन्धित पक्षबीच आइतबार वा सोमबार यसबारे थप छलफल हुने बताइएको छ । नेपाल सुपर लिग (एनएसएल) सँगको सम्झौता रद्द भएसँगै यो फ्रेन्चाईज फुटबलको निरन्तरता र भविष्य फेरि अनिश्चित बनेको छ ।

स्मरण रहोस, यसपटक सुपर लिगमा थप तीन टोलीलाई जोडेर सहभागि टोली संख्या १० पुर्याइएको थियो । सुपर लिगको दोस्रो संस्करणका लागि खेलाडी निलामी र मार्की खेलाडीहरुको पनि घोषणा भईसकेको थियो ।

Post Comments