News थापालाई महिला फुटबल टोलीको जिम्मेवारी
गोलनेपाल

काठमाडौं । नेपाल मै हुन गईरहेको महिला साफ च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा अनुभवी प्रशिक्षक कुमार थापाले पाएका छन् । त्यस्तै टिम व्यवस्थापकको जिम्मा भने पूर्व महिला फुटबल संघकी अध्यक्ष विन्द्रा देवानले पाएकी छिन् ।

त्यसबाहेक अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । बैठकले महिला साफ च्याम्पियनसिपको मिति पनि परिवर्तन गरेको छ । यसअघि आउँदो भदौ १३ गतेदेखि शुरु हुने भनिए तापनि अब प्रतियोगिताको नयाँ मिति भदौ २१ लाई तोकिएको छ ।

प्रतियोगिताको समापन भने असोज ३ गतेका दिन हुनेछ । त्यस्तै प्रतियोगिता काठमाडौं मै आयोजना गर्ने निर्णय भएको समेत एन्फाले जनाएको छ । त्यसैगरी एन्फाका वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काको संयोजकत्वमा प्रतियोगिता आयोजक कमिटी समेत गठन गरिएको छ । कमिटीमा एन्फा कार्यसमितिका सबै पदाधिकारीहरुलाई समेटिएको पनि एन्फाले जनाएको छ ।

एन्फा कै कार्यसमिति सदस्य रविन्द्र चन्दलाई खेलस्थल व्यवस्थापनको जिम्मा दिइएको छ भने विजय घलेलाई स्थानीय संयोजकको जिम्मेवारी दिइएको छ । प्रतियोगिताको सुरक्षा प्रमुखमा भने दिनेश व्यञ्जनकार रहेका छन् । त्यसैगरी क्षेत्रीय प्रतियोगिताहरुमा मार्केटिङ, प्रसारण र डिजिटल अधिकार संयोजकको जिम्मेवारी सञ्जिव शिल्पकारले पाएका छन् ।

महिला साफ च्याम्पियनसिपमा यसपटक दक्षिण एसियाका सबै टोलीहरुले सहभागिता जनाउने तय भईसकेको छ । स्मरण रहोस, प्रतियोगिताको गत संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । बिराटनगरमा भएको प्रतियोगिताको उपाधि भारतले जितेको थियो । फाइनलमा भारतले घरेलु टोली नेपाललाई हराएको थियो ।

 

Post Comments