News किरनको टोली माजियाको लिग उपाधिमाथि ‘ह्याट्रिक’
गोलनेपाल

काठमाडौं । नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले माल्दिभ्सको शिर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि लगातार तेस्रोपटक जित्न सफल भएको छ । समग्रमा माजियाको यो चौथो लिग उपाधि पनि हो । माजियाले पहिलोपटक सन् २०१६ मा लिग उपाधि जितेको थियो ।

शुक्रबार भएको खेलमा माजियाले दा ग्राण्डेलाई १–० ले पराजित गरेपछि दुई खेल खेल्नु अघि नै लिग विजेता बनेको हो । माजियाको जितमा टाना डोमिंगेजले एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै १९ खेलबाट ५४ अंक जोडेको माजिया शिर्ष स्थानमा रहेर लिग च्याम्पियन बन्यो । लिग अवधिभर माजिया सामू उपाधि होडको चुनौती पेश गरेको क्लब इगल्स भने ४६ अंकका साथ दोस्रो स्थान मै रहन बाध्य बन्यो ।

माल्दिभ्स किरनको भने यो माजियाका लागि पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि हो । यसअघि किरनले सन् २०१८ मा टिसी स्पोर्टस्का लागि खेल्दै माल्दिभ्सको शिर्ष लिग जितेका थिए । त्यतिबेला किरनले उत्कृष्ट गोलरक्षकको अवार्ड समेत जितेका थिए ।

 

Post Comments