News घरेलु फुटबलप्रति जगजितको ‘असन्तुष्टी र आक्रोश’
सुरज राना मगर

काठमाडौं । पछिल्लो केही वर्ष यतादेखि अष्ट्रेलियामा बसोबास गर्दै आईरहेका नेपालका अन्तर्राष्ट्रिय खेलाडी जगजित श्रेष्ठले नेपालको घरेलु फुटबलप्रति आक्रोश र असन्तुष्टी पोखेका छन् । जगजितले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै सम्बन्धित सबैलाई आवाज उठाउन आह्वान समेत गरेका छन् ।

जगजितले घरेलु फुटबलमा तीन महिना लिग खेलेर ९ महिना बेरोजगार भई बस्दा पनि सम्बन्धित खेलाडी, प्रशिक्षक, क्लब र रेफ्रीहरुले आवाज किन नउठाएको भनेर प्रति प्रश्न गरेका छन् । जगजितले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यो असन्तुष्टी पोखेका हुन् ।

जगजित लेख्छन्, ‘वर्षमा ३ महिनाको लिग खेलेर ९ महिना बेरोजगार हुँदा पनि हामी खेलाडी, रेफ्री, प्रशिक्षक किन कुनै आवाज उठाउँदैनौं ?’ जगजितले त्यति मात्र नभएर यसबारे आफू एक्लैले भए पनि अब निरन्तर आवाज उठाउने समेत बताएका छन् । उनी अगाडी लेख्छन्, ‘यदि अबको केहि हप्तामा पनि कुनै प्रतियोगिता हुने छाँट्काँट भएन भने त्यसको बिरुद्ध म हरेक दिन अवाज उठाउनेछु । सक्नु हुन्छ भने तपाईहरु मलाई साथ दिनु होला ।’

स्मरण रहोस, जगजितले अष्ट्रेलियामा रहेर पनि त्यहाँ विभिन्न क्लबहरुबाट व्यवसायीक फुटबल खेलेका छन् । साथै उनले गत सिजन शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबका लागि पनि लिग खेलेका थिए । जगजित सामाजिक सञ्जालमा पनि नेपालको फुटबल गतिविधीबारे आफ्नो विचार र प्रतिक्रिया राख्न उत्तिकै सक्रिय छन् ।

 

Post Comments