News नव टिकुलीगढ कप सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु
सुरज राना मगर

तिलोत्तमा । युवा खेलाडीहरुलाई लागुऔषध तथा दुव्र्यसनीबाट टाढा राखी खेलकुदतर्फ उत्प्रेरित गर्ने उद्देश्यका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिमा नव टिकुलीगढ कप सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा नगरपालिका–१४ स्थित टिकुलीगढ माविको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा रेसुङ्गा फुटबल क्लबले विजयी शुरुवात गर्यो । खेलमा रेसुङाले शंकरपुर फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा कुल ३६ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तोरन गुरुङले बताए ।

प्रतियोगितामा स्थानीय युवा खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्ने र खेलाडीहरुबीच आत्मियता कायम गर्न पनि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगिताको फाइनल खेल भने यहि साउन २८ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्विन पौडेल, आयोजक क्लबका अध्यक्ष तोरन गुरुङ, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन क्षेत्री लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

Post Comments