News स्वदेश फर्कियो नेपाल यु–२० फुटबल टोली
गोलनेपाल

काठमाडौं । भारतमा जारी साफ यु–२० च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली यु–२० फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीहरुले स्वागत गरेका थिए ।

भारतको भुवनेश्वरमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपालले फाइनलमा स्थान सुरक्षित गर्न नसकेपछि स्वदेश फर्किन बाध्य भएको थियो । नेपालले खेलेको कुल चार मध्ये दुई खेलमा जित, एकमा हार र एकमा बराबरी खेलेको थियो ।

नेपालले माल्दिभ्स र श्रीलंकालाई हराए पनि भारतसँग ८–० ले पराजित हुनु र बंगलादेशसँग १–१ को बराबरीमा रोकिनु नेपालको फाइनल यात्रामा मुख्य कारक र बाधक बनेको थियो । स्मरणीय छ, प्रतियोगिताको उपाधिका लागि शुक्रबार भारत र बंगलादेश फाइनलमा भिड्दै छन् ।

स्वदेश फर्किए लगतै अब नेपाल यु–२० टोलीको ध्यान एएफसी यु–२० एसियन कप छनौटको तयारीतर्फ हुनेछ । आउँदो सेप्टेम्बर महिनामा हुन गईरहेको छनौट प्रतियोगितातर्फ नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले आयोजक बहराईनसँगै बलियो कतार, भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments