News प्रतिष्ठित २०औं लिस्नु कप शुरु
सुरज राना मगर

तिलोत्तमा । रुपन्देही कै पुरानो र प्रतिष्ठित मध्ये एक स्व.डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेल भने वर्षाले बिथोलिन पुग्यो ।

उद्घाटन खेलमा साविक विजेता फर्साटिकर युवा क्लब र आहना एफसीबीचको खेल शुरु भएको केहीबेर मै वर्षाले मैदान खेल्न योग्य नभएपछि स्थगित गरिएको थियो । स्थगित गरिएको सोही खेल भाद्र १९ गते आइतबार बिहान सम्पन्न भयो । सो खेलमा फर्साटिकर ४–१ ले विजयी भयो ।

फर्साटिकरको जितमा सन्जु सेनले दुई गोल गर्दा कृष्ण राना र राम न्यौपानेले एक–एक गोल गरे । उता पराजित आहनाका लागि आसमान थापा क्षेत्रीले एक मात्र सान्त्वना गोल गरेका थिए । खेलमा फर्साटिकरका राम न्यौपाने म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा फोर ब्रदर्श एफसी, नवलपरासीले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ७–१ को फराकिलो अन्तरले हरायो । फोर ब्रदर्शका लागि कप्तान कृपा चौधरीले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै थप गोल भने आवेष शाही, रन्जित चौधरी र आशिष महतोले गरे ।

उता पराजित झरनाका लागि दिपु थापाले पेनाल्टीबाट एक मात्र गोल गरेका थिए । खेलमा फोर ब्रदर्शका कृपा चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पनि पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

रुपन्देहीको विरासत धान्दै लिस्नु

रुपन्देहीमा पछिल्ला केही वर्ष महामारीले गर्दा फुटबल प्रतियोगिताहरुले निरन्तरता पाउन नसकिरहेको अवस्थामा लिस्नुले भने जिल्लाको विरासत धान्ने काम गरेको आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए । परिस्थिति जस्तो सुकै भए पनि लिस्नु कप जिल्ला कै पहिचानका रुपमा राष्ट्रियस्तरमा परिचित भइसकेको अध्यक्ष मल्लले बताए । प्रतियोगिताले आउने दिनहरुमा पनि भव्यताका साथ निरन्तरता पाउने उनले प्रतिवद्धता जनाए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँड, विशिष्ट अतिथी तथा प्रतियोगिताकी मुख्य प्रायोजक श्रीमाया गुरुङ, आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्ल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले संयुक्त रुपमा गरेका थिए ।

पाँच जिल्लाका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने आर्थिक संयोजक प्रकाश पाण्डे क्षेत्रीले जानकारी दिए । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही २५–२५ हजार पाउने संयोजक क्षेत्रीले बताए ।

प्रतियोगिताको फाइनल खेल भने आउँदो असोज ३ गतेका दिन हुनेछ ।

Post Comments