News फ्युजनलाई खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

त्रियुगा । दाजुभाई समूह (दोहा, कतार) को आयोजना तथा फ्युजन फुटबल क्लबको संयोजनमा सम्पन्न खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि फ्युजन एफसी (बी) ले जितेको छ ।

त्रियुगा नगरपालिका–१० स्थित खसीबजार ग्राङ्गणमा सम्पन्न फाइनल खेलमा फ्युजनले गाईघाट एफसीलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । फ्युजनको जितमा सुनिल खड्का र सुदिप श्रेष्ठले गोल गरे । उता पराजित गाईघाटका लागि सन्तोष दहालले एक मात्र गोल फर्काए ।

फाइनल खेलको म्यान अफ द म्याच टिपसन राई घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, रक्षक र मिडफिल्डर फ्युजनका क्रमशः बिजय सेवा, प्रविन श्रेष्ठ र शिशिर लेखी चुनिए । उत्कृष्ट फरवार्ड गाईघाटका दिवस श्रेष्ठ बने । सर्वाधिक गोलकर्ताको पुरस्कार फ्युजन कै सरोज राउतले प्राप्त गरे ।

उदियमान खेलाडी फ्युजनका दुर्योधन मगर बन्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फ्युजन कै सुनिल खड्का घोषित भए । विजेता बनेको फ्युजनले उपाधिसहित २० हजार हात पार्दा गाईघाटले १० हजारमा चित्त बुझायो ।

Post Comments