
तिलोत्तमा । यहाँ जारी प्रतिष्ठित २०औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगितामा रोमाञ्चक जित निकाल्दै गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ गोर्खा ब्वाईजले सनराईज एफसी, नवलपरासीलाई सडन डेथमा ६–५ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
त्यसअघि श्री पशुपति माविको खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेले । खेलको नवौं मिनट मै अनुज गैरेको गोलबाट अग्रता लिएको गोर्खा ब्वाईजले त्यसलाई जोगाउन सकेन । २६औं मिनटमा बेदनाथ भट्टराईले सनराईजका लागि बराबरी गोल फर्काए ।
त्यसको ४ मिनट लगतै मनिष चौधरीले सनराईजका लागि दोस्रो गोल थपे भने पहिलो हाफ कै अतिरिक्त समयमा बेदनाथ भट्टराईले तेस्रो गोल गरे । यद्यपि गोर्खा ब्वाईज दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ५७ र ७३औं मिनटमा गोर्खा ब्वाईजका कप्तान निशान न्यौपानेले लगातार दुई गोल गर्दै खेललाई रोमाञ्चक ३–३ को बराबरीमा ल्याएका थिए ।
पेनाल्टी शुटआउटमा भने नतिजा गोर्खा ब्वाईजले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा गोर्खा ब्वाईजका लागि दुई महत्वपूर्ण गोल गरेका निशान न्यौपाने म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत भाद्र २१ गते मंगलबारको खेल समपुर्ण युवा क्लब, सुपौली र राईजिङ स्टार युवा क्लब, कपिलवस्तु बीच हुने खेल संयोजक नेम बहादुर गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा नगरपालिका–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज ३ गतेका दिन हुनेछ ।