News प्रथम खैरहनी गोल्डकप असोज १ देखि, विजेताले ३ लाख पाउने
गोलनेपाल

चितवन । श्री विपन्न उत्थान मञ्च, खैरहनी नगरपालिका–३, चितवनको आयोजनामा आउँदो असोज १ गतेदेखि प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । खैरहनी माविको खेलमैदानमा असोज १५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनसहित हेटौडा, सिन्धुली, बारा, नवलपुर, बिरगंज, नवलपरासी र सर्लाहीका उत्कृष्ट टिमहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागि टोलीहरुमा आयोजक टोलीसहित दुधौली स्पोर्टस क्लब सिन्धुली, हर्दि युवा समाज भण्डारा, बिरगंज युनाइटेड बिरगंज, हेटौडा फुटबल एकेडेमी हेटौडा, युनिक एफसी चितवन, माडी एफसी माडी, भैरव एफसी बर्दघाट, खैरहनी नगर एफसी चितवन, एभरेष्ट एफसी लालबन्दी सर्लाही, सिद्धबाबा एफसी अमलेखगञ्ज बारा, निजगढ एफसी बारा, अरुणखोला युनाइटेड एफसी नवलपुर, पदमपोखरी युनाइटेड एफसी हेटौडा र एभरेष्ट एफसी नारायणगढ रहेका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments