News सात गोलको ‘थ्रीलर म्याच’ मा राइजिङको जित
सुरज राना मगर

तिलोत्तमा । प्रतिस्पर्धात्मक जितका साथ राइजिङ स्टार युथ क्लब, कपिलवस्तु जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न चौथो प्रिक्वाटरफाइनलमा राइजिङले समपुर्ण युवा क्लब, सुपौलीलाई ४–३ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा सम्पन्न खेलको १३औं मिनटमा राम बहादुर बिकको गोलबाट राइजिङले खेलमा अग्रता लिएको थियो ।

तर २३औं मिनटमा समपुर्णका लागि मिसन दर्लामीले बराबरी गोल फर्काए । ३२औं मिनटमा जय गुरुङले गोल गर्दा समपुर्णले खेलमा अग्रता बनायो । तर प्रतिस्पर्धात्मक खेलको ४९औं मिनटमा चन्द पुनले राइजिङका लागि गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए ।

खेलको रोमाञ्चकता त्यति मै रोकिएन । ६०औं मिनटमा सन्दिप थारुले राइजिङका लागि तेस्रो गोल गर्दै टोलीलाई फेरि खेलमा अग्रता दिलाए । यद्यपि लगतै ६५औं मिनटमा जय गुरुङले नै व्यक्तिगत दोस्रो तथा समपुर्णका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ को रोमाञ्चक स्थितिमा ल्याए ।

खेल सकिन केही मिनट बाँकी छँदा इन्जुरी समयमा अरुण थारुले राइजिङका लागि चौथो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । खेलमा निर्णायक गोलकर्ता अरुण थारु नै म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत भाद्र २२ गते बुधबारको खेल सञ्जिवनी युवा क्लब, देवीनगर र डि युनिटी क्लब, खैरेनीबीच हुने खेल संयोजक नेम बहादुर गुरुङले जानकारी दिए ।

लिस्नु युवा क्लब, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो असोज ३ गतेका दिन हुनेछ ।

Post Comments