News पेमा युवा क्लब सेमिफाइनलमा
गोलनेपाल

सुकचर । संघर्षपुर्ण जितका साथ पेमा युवा क्लब, बिराटनगर जारी दोस्रो सुकचर च्यालेञ्ज कप नकाउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलमा पेमाले पञ्चायन एफसी, रामधुनीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

त्यसअघि सुकचर स्थित बुढीगंगा खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पेमाका लागि ५२औं मिनटमा कोमल खवासले गोल गर्दा पञ्चायनका लागि ६६औं मिनटमा तिर्थ बस्नेतले बराबरी गोल फर्काएका थिए ।

खेलमा पेमा युवा क्लबका कोमल खवास म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १ हजार १ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भदौ २८ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल कुसुमे साइनिङ क्लब, केराबारी र उदय युथ क्लब, धरानबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments