News मनाङ इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । प्रतियोगिताको दावेदार मध्ये एक मानिएको मनाङ एफसी यहाँ जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेल सोमबार नै खेलाइए तापनि प्रतिकुल मौसमका कारण स्थगित गरिएको थियो । सोमबार निर्धारित समयको खेल १–१ को बराबरीमा रहँदा स्थगित गरिएको थियो । सोही खेल मंगलबार बिहान टाईब्रेकर मात्र खेलाइएको थियो ।

क्याम्पाचौरमा सम्पन्न मंगलबारको बिहानको सो खेलमा भने मनाङले बागमती युवा क्लब, सर्लाहीलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

खेलमा मनाङका फोफना म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ २८ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र फर्साटिकर युवा क्लब, रुपन्देहीबीच हुने खेल संयोजक ध्रुव भुषालले जानकारी दिए ।

केबिए ग्लोबल भरतपुर एफसी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments