News आयोजक लिस्नु अन्तिम चारमा
सुरज राना मगर

तिलोत्तमा । आयोजक लिस्नु युवा क्लब यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा अञ्चलपुर युवा क्लबमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकाल्दै लिस्नु अन्तिम चारमा प्रवेश गरेको हो ।

कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता भने अञ्चलपुरले लिएको थियो । २५औं मिनटमा शिशिर लेखीको गोलबाट अग्रता लिएको अञ्चलपुरले त्यसलाई जोगाउन सकेन ।

दोस्रो हाफको चौथो मिनट मै लिस्नुले पेनाल्टीको अवसर पायो । जसलाई फोफनाले कुनै गल्ती नगरी गोलमा परिणत गरे । त्यसको ६ मिनट लगतै राजेन्द्र रावलले लिस्नुका लागि दोस्रो गोल गरे । जुन गोल खेलको निर्णायक पनि बन्यो ।

खेलमा लिस्नुका कप्तान सुमित मल्लाह म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । त्यस्तै म्यान अफ द ममेन्टको पुरस्कार अञ्चलपुरका शिशिर लेखीले हात पारे । उनले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत भदौ ३० गते आराम दिइएको आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले बताए । प्रतियोगिता अन्तरगत भदौ ३१ गतेको पहिलो सेमिफाइनल खेल सञ्जिवनी युवा क्लब र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक नेम बहादुर गुरुङले जानकारी दिए ।

आगामी असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दई टोलीले जनही २५–२५ हजार प्राप्त गर्नेछन् ।

Post Comments