News एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा आयोजक केबिए ग्लोबल भरतपुर एफसीलाई ३–२ ले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

नारायणगढ स्थित क्याम्पाचौरमा सम्पन्न खेलको १०औं मिनटमा हरि कार्कीको गोलबाट एपिएफले खेलमा अग्रता लिएको थियो । यद्यपि पहिलो हाफ कै अतिरिक्त समयमा कमल थापा र राज भुषालले लगातार दुई गोल गर्दै आयोजक भरतपुरलाई खेलमा २–१ को स्थितिमा ल्याए ।

तर दोस्रो हाफमा फेरि एपिएफ खेलमा फर्कियो । ४९औं मिनटमा हरि कार्कीले नै व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई खेलमा फर्काए र खेल २–२ को स्थितिमा ल्याए । ६९औं मिनटमा भरतपुरका कुलदिप कार्कीले आत्मघाती गोल गर्दा घरेलु टोली ३–२ ले निराश बन्यो भने एपिएफ अन्तिम चारमा प्रवेश गर्यो ।

खेलमा एपिएफका हरि कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ ३० गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नव जनजागृति युवा क्लब, सिमरा र त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं बीच हुने खेल संयोजक ध्रुव भुषालले जानकारी दिए ।

असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments