News तालतलैया सुकचर च्यालेञ्ज कपको फाइनलमा
गोलनेपाल

सुकचर । संघर्षपुर्ण जितका साथ तालतलैया फुटबल एकेडेमी, सुनसरी जारी दोस्रो सुकचर च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ । बुढीगंगा खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा तातलैयाले पेमा युवा क्लब, बिराटनगर सडन डेथमा ६–५ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

खेलमा शुरुवाती अग्रता तालतलैयाले नै लिएको थियो । ३५औं मिनटमा सुशान तामाङको गोलबाट अग्रता बनाएको तातलैयाले अन्तिमतिर गुमाउन पुग्यो । खेलको ७८औं मिनटमा निशान लिम्बुले पेमाका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

नतिजा टाईब्रेकरबाट पनि ननिस्किएपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो । जसमा तालतलैया विजयी बन्यो । खेलमा तालतलैयाका किरण लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत असोज १ गतेको दोस्रो सेमिफाइनल आयोजक नवयुवा क्लब, सुकचर र कुसुमे साइनिङ क्लब, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

यहि असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments