News कतारसँग बंगलादेश पराजित, भुटानमाथि बहराईनको साँघुरो जित
गोलनेपाल

काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटको नेपाल कै समूह बी तर्फ शुक्रबार राती दुई खेलहरु सम्पन्न भए । पहिलो खेलमा कतारले बंगलादेशमाथि ३–० को जित निकाल्दा आयोजक बहराईनले भुटानमाथि २–१ को साँघुरो जित दर्ता गर्यो ।

अरद स्थित अल मुहरक स्टेडियममा सम्पन्न पहिलो खेलमा बंगलादेश विरुद्ध कतारका लागि अहमद अल–रवीले तीन गोल आफ्नो नाममा लेखाए । उनले खेलको २२, ६० र इन्जुरी समयमा पेनाल्टीबाट तेस्रो गोल गरे ।

त्यस्तै शुक्रबार अबेर राती नै सम्पन्न अर्को खेलमा बहराईनका लागि २०औं मिनटमा मुबारक मोहमदले पेनाल्टीबाट पहिलो गोलको खाता खोले । ६०औं मिनटमा सलेम इसाले दोस्रो गोल गरे, जुनि निर्णायक गोल पनि बन्यो । उता भुटानका लागि ७६औं मिनटमा सन्त कुमार लिम्बुले गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

शुक्रबारको नतिजापछि ३ खेलबाट ९ अंक जोडेको कतार शिर्ष स्थानमा छ । ७ अंक जोडेको बहराईन दोस्रो स्थानमा रहँदा ४ अंकका साथ बंगलादेश तेस्रो स्थानमा छ । त्यस्तै चार खेलबाट ३ अंक जोडेको भुटान चौथो स्थानमा छ भने अंकविहीन नेपाल पुछारमा छ ।

समूह बी बाट भुटान र नेपाल बाहिरिसकेका छन् । समूह बी को अन्तिम दुई खेलमा आइतबार नेपालले बंगलादेशको सामना गर्नेछ भने सोही दिन कतार र बहराईन पनि आमने सामने हुने छन् ।

 

 

Post Comments