News लुम्बिनी तिलोत्तमा क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । यहाँ जारी स्व. खबिर पुन र प्यारी पुन स्मृति प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगितामा लुम्बिनी तिलोत्तमा फिट एण्ड फाइन क्लबले जित हात पारेको छ ।

तिलोत्तमा १४, सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा भएको रोमाञ्चक खेलमा लुम्बिनी तिलोत्तमाले शहरी प्रतिद्वन्द्वी तिलोत्तमा ५ युवा क्लबलाई ३–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो ।

लुम्बिनी तिलोत्तमाको जितमा कृष्ण गलामीले दुई गोल गरे भने थप एक गोल सुशिल गुरुङले गरे । उता पराजित तिलोत्तमा ५ का लागि शरद क्षेत्री र सेठ परियारले एक–एक गोल गरे । खेलमा लुम्बिनी तिलोत्तमाका रोहन राई म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत असोज ६ गते बिहीबारको खेल नव टिकुलीगढ युवा क्लब, टिकुलीगढ र अमुवा युवा क्लब, अमुवा बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा १४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज १७ गतेका दिन हुनेछ ।

Post Comments