News मोरङ, धनकुटा, संखुवासभा र भोजपुर विजयी
राजकुमार श्रेष्ठ

बिराटनगर । पोखरामा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर १ को पुरुष फुटबल छनौट खेलमा मोरङ, धनकुटा, संखुवासभा र भोजपुरले जितेको छ । बुधबार मोरङको विराटनगरमा रहेको शहिद रंगशालामा बिहान भएको पहिलो खेलमा खोटाङलाई १-० गोलले पराजित गर्दै मोरङ क्वाटरफाइनलमा प्रवेश रहेको छ ।

दुवै टिमबाट ए डिभिजन खेलेका अनुभवी खेलाडीका साथ मैदान उत्रिएको थियो । निकै रोमाञ्चक खेलमा मोरङको लागि खेलको नवौं मिनेटमा जर्सी नं ७ का टिम क्याप्टेन कोमल खवासको एक मात्र गोलले जित सुनिश्चित भएको थियो । आज नै भएको दिस्रो खेलमा धनकुटाले पाँचथरलाई ३-२ गोलले पराजित गर्दै क्वाटरफाइनल पुग्न सफल भएको छ ।

दिउसो ११ बजेको घाममा खेलका यी दुवै टोलि भने जस्तो खेल खेल्न सकेन । धनकुटाको लागि खेलको ३४ औं मिनेटमा टिम क्याप्टेन जर्सी नं १४ का खेलाडी बुद्ध चेम्जोङले पहिलो गोल गरेको थियो भने पाँचथरको लागि ४०+१ औंमिनेटमा जर्सी नं १० का खेलाडी निर्देश राईले गोल गर्दै पहिलो हाफ आफ्नो टिमलाई बराबरीमा पुर्याएका थिए ।

विराटनगरको गर्मीमा खेलेका खेलमा ५० र ६० औं मिनेटमा धनकुटाको लागि जर्सी नं ३० र ३ का खेलाडी मन कुमार राई र बिरेन चेम्जोङले क्रमश एक-एक गोल गरेका थिए । निकै गर्मीका कारण खेलमा ३ मिनेटको कुलिङ्ग ब्रेक दिएको थियो । पाँचथरको लागि खेलको ८०+२ औं मिनेटमा जर्सी नं १० का खेलाडी निर्देश राईले व्यक्तिगत दुई गरे पनि पाँचथरको लागि जित दिलाउन सकेन ।

धनकुटा पहिलो खेल जित्दै क्वाटरफाइनलमा सुनसरी संग खेल्ने छ । यस्तै तेस्रो खेलमा संखुवासभाले तेह्रथुमलाई दुई शुन्य गोलले जित्दै ओखलढुंगासंगको भेट पक्का गरेको हो । दिउसो २ बजे भएको खेलको ३५ औं मिनेटमा संखुवासभाको लागि जर्सी नं १० का खेलाडी जीवन राई गोल गर्दै पहिलो हाफमा १-० अग्रता दिलाउन सफल भए ।

खेलमा पाएको पेनाल्टीमा तेह्रथुम गोल गर्नबाट चुकेको थियो । संखुवासभालाई थप अर्को गोल ७४ औं मिनेटमा जर्सी नं ७ का खेलाडी जीवन मगर गोल गर्दै संखुवासभाको जित पक्का गरेको हो । यस्तै आजको अन्तिम खेलमा भोजपुरले उदयपुर माथी ४-२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धा खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलिले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए । दोस्रो हाफमा भोजपुरका क्याप्टेन जर्सी नं ११ का खेलाडी बिजय भुजेल खेलको ५३ र ५९ औं मिनेटमा गोल गरे भने उदयपुरको लागि ६२ औं मिनेटमा जर्सी नं १० का खेलाडी आशिष थारुले गोल गर्दै खेलमा अन्तर घटाए पनि भोजपुरका लागि थप गोल ६५ र ७० औं मिनेटमा जर्सी नं ८ का खेलाडी राम बहादुर तामाङले गोल गर्दै भोजपुरको जित सुनिश्चित गरेका थिए ।

यस्तै खेलको अन्तिम समय ८३ औं मिनेटमा जर्सी नं १८ का खेलाडी दिवश श्रेष्ठ गोल गरे पनि जितको लागि प्रयाप्त भएन । अब भोजपुरले इलामसंग खेल्ने छ। भोलि पनि छनोट अन्तर्गत चार खेल हुने छ ।

Post Comments