News एन्फा कास्कीका अध्यक्षलाई मनाङेले थप्पड हाने
गोलनेपाल

पोखरा । पटक–पटक विवादमा आइरहने र गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका छन् ।

हाल पोखरामा जारी गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा पुगेका प्रदेश सांसद मनाङेले मंगलबार गुरुङलाई मुक्का प्रहार गरेका हुन् ।

नागरिकन्युजमा प्रकाशित खबरअनुसार सांसद दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र आवश्यक बस्ने ठाउँको व्यवस्था नगरेको भन्दै हात हालेको बुझिएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा अतिथीका रुपमा आशन ग्रहण गर्न मञ्चमा पुग्दा साँसद मनाङको भेट एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङसँग भएपछि मनाङेले मनाङबाट आएको टोलीका लागि अभ्यास मैदान र बस्ने व्यवस्था किन नमिलाइएको भन्नेबारे प्रश्न राखेका थिए ।

उनको प्रश्नपछि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले अध्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताएका थिए । सोही विषयलाई लिएर दुईबीच केहीबेर चकाचर्की समेत भएको बताईन्छ । नागरिकन्युजका अनुसार सोही क्रममा मनाङले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि हातपात गरेको बुझिएको छ ।

उता एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई हात हालेको कुरा बताएका छन् । साथै उनले हप्ता दिनदेखि आएर बसेका टिम र खेलाडीहरुको खाने बस्ने व्यवस्था गर्न नसकिने पनि स्पष्ट पारे । उनका अनुसार एक दिन अघि र एक दिन पछिको खेलाडीको व्यवस्थापन आफूहरुले गर्न सक्ने तर त्यो बाहेक अन्य व्यवस्थ ागर्न नसक्ने पनि उनले स्पष्ट पारे ।

त्यस्तै सांसद गुरुङले भने एन्फा कास्कीका अध्यक्षले झुक्याएकै कारण उनलाई हात हालेको बताएका छन् । सांसद गुरुङका अनुसार एन्फा कास्कीका महासचिव रमेश केसीले माघ १ गते नै आउनु भनेर बोलाएको तर अध्यक्ष गुरुङकै कारण खाने, बस्ने ब्यबस्था र अभ्यास मैदान नमिलाईदिएको कुरा नागरिकन्युजले खबर प्रकाशित गरेको छ ।

Post Comments