News मोरङ–११ बन्यो च्याम्पियन
गोलनेपाल

धनकुटा । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रदेश स्तरीय नकआउट महिला फुटबल प्रतियोगिताको उपाधि मोरङ–११ ले जितेको छ ।

धनकुटा स्थित टुंडिखेल मैदानमा भएको फाइनल भिडन्तमा मोरङले धनकुटा फुटबल संघलाई १–० को झिनो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । मोरङको जितमा खेलको ४१औं मिनटमा इमा राईले एक मात्र निर्णायक गोल गरिन् ।

विजेता बनेको मोरङले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता धनकुटाले ५० हजारमा चित्त बुझायो । त्यस्तै फाइनल खेलकी निर्णायक गोलकर्ता मोरङकी इमा राईृ सर्वोत्कृष्ट खेलाडी घोषित भईन् । उनले पुरस्कार वापत नगद १० हजार हात पारिन् ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ मोरङकै कल्पना क्षेत्री उत्कृष्ट गोलरक्षक बनिन भने आशा लिम्बु उत्कृष्ट डिफेन्डर चुनिइन् । त्यसैगरी धनकुटाकी सन्ध्या रम्तेल उत्कृष्ट मिडफिल्ड घोषित भईन् भने धनकुटा कै सुनिता तामाङ उदयीमान खेलाडी बनिन् ।

प्रतियोगिताको उत्कृट प्रशिक्षक भने मोरङका पारस चौधरी बने । सर्वाधिक गोलकर्ताको पुरस्कार भने साबित्रा मगर र इमा राईले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार हात पारे ।

विजेताहरुलाई पूर्व मन्त्री सुनिल कुमार थापा लगायतका अतिथीहरुले पुरस्कृत गरे । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा यहि माघ ३ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश १ का कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।

 

Post Comments