News नवयुवालाई प्रथम समपुर्ण कपको उपाधि
सुरज राना मगर

तिलोत्तमा । स्व. खबिर पुन र प्यारी पुन स्मृति प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको उपाधि नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ठुटिपिपलले जितेको छ । सोमबार भएको उपाधि भिडन्तमा नवयुवाले न्यु हिउचुली युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि चुमेको हो ।

तिलोत्तमा–१४ सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न खेलमा नवयुवाका लागि खेल शुरु भएको १०औं मिनटमै शिव बोटेको क्रस पासमा अनुज गैरेले हेडमार्फत सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ६३औं मिनटमा आवेश शाहीले नवयुवाका लागि दोस्रो गोल थपे । जुन खेलको अन्तिम गोल पनि बन्यो ।

विजेता बनेको नवयुवाले उपाधिसहित नगद ५० हजार हात पार्यो । विजेता टोलीलाई मुख्य प्रायोजक स्व.खबिर पुन र प्यारी पुनका छोरा–बुहारी धन बहादुर पुन र टिका पुन, प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडले नगद र ट्रफीसहित पुरस्कृत गरे ।

त्यस्तै, उपविजेता बनेको न्यु हिउचुलीले नगद ३० हजार र ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता टोलीलाई कार्यक्रमका विशिष्ठ अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक क्लबका अध्यक्ष झबिलाल थापा, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नवयुवाका अनुज गैरे चुनिए । उत्कृष्ट गोलरक्षक पनि नवयुवा कै टोप बहादुर राना घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक समपुर्ण युवा क्लबका सबी गुरुङले प्राप्त गरे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा असोज ४ गतेदेखि शुरु प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने योजना रहेको बताउँदै आयोजक क्लबका अध्यक्ष झबिलाल थापाले समग्र सुपौलीको खेलकुद विकासमा सबैको सहयोग र समर्थनको अपेक्षा गरेको पनि बताए । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई उनले आभार र धन्यवाद समेत दिए ।

Post Comments