News पुरुष फुटबलमा गण्डकीको विजयी शुरुवात
उमेश पुन

पोखरा । राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ आयोजक तथा घरेलु टोली गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा सम्पन्न समूह ए तर्फको आफ्नो पहिलो खेलमा गण्डकीले प्रदेश १ लाई २–० ले हराएको हो । गण्डकीका लागि जय गुरुङ र कमल थापाले गोल गरे ।

स्मरण रहोस, विवादित बनेको समूहको पहिलो खेलमा प्रदेश १ ले एनआरएनएसँग २–० को हार बेहोरेको थियो । यद्यपि नियमविपरित टोलीमा बाहिरी खेलाडी समावेश गरेको भन्दै प्रदेश १ ले एनआरएनएको टिमविरुद्ध उजुरी दिएको थियो । जुन उजुरी सदर भई सो नतिजा प्रदेश १ को पक्षमा गएको थियो ।

समूह ए तर्फको अन्तिम खेलमा अब गण्डकी प्रदेशले आइतबार एनआरएनएको फुटबल टिमसँग खेल्नेछ । एनआरएनए टिमले पहिलो खेलमा उतारेको महत्वपूर्ण ८ खेलाडीहरुले भने खेल्न पाउने छैनन् । टोलीमा हाल १२ खेलाडीहरु मात्र उपलब्ध रहेको बताइएको छ ।

 

Post Comments