News अभिषेक र सुमन पनि अष्ट्रेलिया प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलका थप दुई आशा लाग्दा खेलाडी अभिषेक रिजाल र सुमन अर्याल पनि सुनिश्चित भविष्यका लागि अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् । यी दुई खेलाडीको अष्ट्रेलिया पलायनसँगै नेपालबाट विदेशिने खेलाडीहरुको संख्या थप लम्बिएको छ ।

सुमन त्रिभुवन आर्मी फुटबल क्लबका नियमित सदस्य थिए भने नेपाली राष्ट्रिय फुटबल टोलीका पनि अहम सदस्य थिए । उता अभिषेक भने केही समय यता राष्ट्रिय टोलीमा नपरे पनि सम्भावना बोकेका खेलाडीहरुमा उनी पनि पर्थे । पछिल्लो समय मच्छिन्द्रका लागि लिग समेत खेलेका अभिषेक पनि सम्भावना बोकेका क्षमतावान खेलाडीका रुपमा परिचित थिए ।

स्मरण रहोस, गत महिना मात्र अमिर श्रेष्ठ, शिव गुरुङ, मिक्चेन तामाङ, रोहित कार्की, राजन गुरुङ जस्ता युवा खेलाडीहरु पनि अष्ट्रेलिया पुगेका थिए । त्यसअघि राष्ट्रिय फुटबल टोलीका सन्तोष तामााङ, सुमन लामा, आशिष लामा जस्ता खेलाडीहरु पनि अष्ट्रेलियातर्फ हानिएका थिए ।

स्मरण रहोस, जगजित श्रेष्ठ, एलन न्यौपाने, बिमल राना, बिमल बस्नेत जस्ता चल्तीका खेलाडीहरुले पनि यसअघि नै अष्ट्रेलियालाई आफ्नो पहिलो प्राथमिकतामा राखेर विदेशिसकेका छन् । साथै अष्ट्रेलियाबाहेक अन्य देशहरुमा पलायन हुने खेलाडीहरुको सूची पनि लामो नै छ ।

नियमित फुटबल गतिविधी नहुनु, फुटबल हाँक्ने जिम्मेवार पक्ष नै आन्तरिक किचलोमा पर्नु, फुटबल खेलेरै नियमित आम्दानी अनिश्चित हुनुलाई पनि खेलाडीहरु विदेश पलायनको मुख्य कारण मानिएको छ । खेलाडीहरु विदेश पलायन हुनुका अन्य कारणहरु पनि होलान्, तर समग्रमा जे भए पनि यो खबर नेपाली फुटबलका लागि राम्रो भने पक्कै होईन ।

Post Comments