News शानदार जितका साथ राजारानी सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । उत्कृष्ट जित हात पार्दै राजारानी फुटबल क्लब, धनकुटा जारी पाँचौ बेलबारी बुद्ध एयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा राजारानीले युनाइटेड ब्रदर्श, कालिम्पोङ, भारतलाई ४–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । लक्ष्मी माविको खेलमैदानमा सम्पन्न खेलको ३५औं मिनटमा छिरिङ गुरुङको गोलबाट राजारानीले अग्रता लिएको थियो ।

७४औं मिनटमा निशान लिम्बुले दोस्रो गोल गरे । ८३औं मिनटमा मनिष थापाले तेस्रो गोल थप्दा ८६औं मिनटमा बुद्ध चेम्जोङले चौथो गोल गर्दै राजारानीको शानदार जित पक्का गरेका थिए ।

खेलमा राजारानीका बुद्ध चेम्जोङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक २१ गते सोमबारको पहिलो सेमिफाइनल खेल आयोजक डाँगीहाट युथ क्लब, मोरङ र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुनेछ ।

यहि कार्तिक २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments