News शनिश्चरे एफसीलाई उपाधि
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित कालिस्थान माविको खेलमैदानमा आयोजित एन्फा रेफ्री स्व खेम तामाङ स्मृृति फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ । 

उपाधि भिडन्तमा रहेका चिरपरिचित प्रतिद्वन्द्वी आयोजक मनास्लु युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै शनिश्चरे एफसीले उपाधि रक्षा गरेको हो । एन्फा रेफ्री स्व खेम तामाङ स्मृृतिमा पहिलाेपल्ट फुटबल प्रतियाेगिता गरिएकाे हाे । 

आयोजक मनास्लु युथ क्लबका लागि खेलको ४ मिनेटमै राजेश दाहालले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर, बाँकी समय शनिश्चरे एफसीले दबाबमा राख्दै स्कोर गर्न सफल रह्यो । 

पहिलो हाफकै १४औँ मिनेटमा शनिश्चरेका लागि पेमा तामाङले आयोजकको असमझदारीको फाइदा उठाउँदै खेललाई बराबरीमा ल्याएका थिए । यस्तै, खेलको ४३औँ मिनेटमा शनिश्चरेले पाएको कर्नर प्रहारमा अग्रता दोब्बर बनाएको थियो । 

कर्नर प्रहारमा शनिश्चरेका विशाल खवासले उत्कृष्ट हेडर गर्दै गोल गरेर २-१ गोलअन्तर निकालेर जित नजिक पुराएका थिए । बाँकी समयमा दुवै टोली आक्रमकरुपमा प्रस्तुत भए पनि कुनै गोल हुने सकेन । 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक शनिश्चरे एफसीका अनुप तामाङ भए भने उत्कृष्ट रक्षक आयोजक मनास्लु युथ क्लबका विशाल दर्जी भए । यस्तै, उत्कृष्ट मिडफिल्डर मनास्लुकै उत्सव राई घोषित हुँदा उत्कृष्ट फरवार्ड मनास्लुका विजयराई घोषित भए । 

यस्तै, प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेका शनिश्चरे एफसीका निखिल तामाङ सर्वाधिक गोलकर्ता घोषित हुँदा उत्कृष्ट खेलाडी शनिश्चरेकै देवेन्द्र तामाङ घोषितहुँदै नगद ३ हजार पाउन सफल भए । 

विजेता, उपविजेता तथा विधागत पुरस्कारका विजेतालाई अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन, वडाध्यक्षहरु कुमारप्रसाद उप्रेती, भूपेन्द्र न्यौपाने, युवा व्यवसायी मित्र गोम्देनलगायतले पुरस्कार प्रदान गरेका थिए । 

प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफी पाएको छ । २०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । 

उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको थियो । प्रतियोगितामा झापाका ८ वटा फुटबल क्लबहरुले सहभागिता जनाएका थिए ।

Post Comments