News फराकिलो जितका साथ छथर गाउँपालिका सेमिफाइनलमा
गोलनेपाल

माङसेबुङ । फराकिलो जितका साथ छथर गाउँपालिका, तेह्रथु यहाँ जारी आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा छथर गाउँपालिकाले मानेभञ्ज्याङ एफसी, दार्जिलिङलाई ६–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । छथर गाउँपालिकाको जितमा मिलन राईले ह्याट्रिक गरे । त्यस्तै दोर्जे तामाङले २ गोल गर्दा थप एक गोल मौसम सुब्बाले गरे ।

उता पराजित मानेभञ्ज्याङका लागि दुवै गोल अभिषेक गुरुङले गरे । खेलमा ह्याट्रिक गरेका छथर गाउँपालिकाका मिलन राई म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर १३ गते मंगलबारको पहिलो सेमिफाइनल खेल तिजोग युवा क्लब, पाँचथर र एच.एफ.सी., सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

आत्मा पवित्र हक्चात यक्चुम, माङसेबुङ, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ३,११,१६९ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०५,१६९ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर १७ गतेका दिन हुनेछ ।

Post Comments