News नेक्ससको विजयी सुरुआत
गोलनेपाल

काठमाडौं । आयोजक मध्येको एक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।

मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एकेडेमीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेक्ससको जितमा अंकित आले मगर, अनिश थापा मगर र एकराज विकले २–२ तथा दिनल लिम्बू र किशोर दनुवारले १–१ गोल योगदान गरे । जितसंगै नेक्सस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेक्सस र ए डिभिजन क्लब संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेक्ससका प्रिन्सिपल आरबी कट्वाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, दिपीका रिमाल र कृष्णप्रसाद अधिकारी, मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलगायतको उपस्थिति रहेको थियो ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् । नकआउट पद्धतिमा जारी प्रतियोगितामा १६ टिम सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार कौस्तुभ एकेडेमी र लोयल्टी एकेडेमी तथा श्री सञ्जय साइ विद्या मन्दिर र ग्रामरबीच खेल हुनेछ ।

Post Comments