News माया युनिभर्सलाई २५औं फादर मोरान स्मृति कपको उपाधि
गोलनेपाल

काठमाडौं । ग्रासरुट फुटबललाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सेन्ट जेभियर्स स्कुल, गोदावरीले स्कुलका संस्थापक प्रिन्सिपल फादर मार्शल डि. मोरान एस.जे. को स्मृतिमा वार्षिक रुपमा आयोजना गर्दै आएको २५औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि साविक विजेता माया युनिभर्स एकेडेमी, तनहुँले जितेको छ ।

फाइनलमा माया युनिभर्सले आयोजक सेन्ट जेभियर्स स्कुललाई ४–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउनुका साथै रक्षा गर्न पनि सफल भएको हो । खेलमा माया युनिभर्सका लागि मन्जिल श्रेष्ठ र इबास बिकले समान २–२ गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच माया युनिभर्सका मन्जिल श्रेष्ठ चुनिए ।

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा मोर्डन इण्डियन स्कुल, चोभार, काठमाडौंले नेपाल डन बस्को स्कुललाई टाईब्रेकरमा ४–३ ले हराउँदै तेस्रो स्थान सुरक्षित गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ मोर्डन इण्डियन स्कुलका लागि आरुश बिलास पन्तले गोल गरेका थिए भने नेपाल डन बस्कोका लागि रुपसन नेपालले गोल गरेका थिए । खेलमा मोर्डन इण्डियन स्कुलका मिङमा पाख्रीन म्यान अफ द म्याच चुनिए ।

व्यक्तिगत विधातर्फ माया युनिभर्सका आदित्य बिक उत्कृष्ट गोलरक्षक बने । उत्कृष्ट डिफेन्डर मोर्डन इण्डियन स्कुलका प्रतिक बानियाँ चुनिए । त्यस्तै मोर्डन इण्डियन स्कुल कै जोन राउत मस्ट प्रमिसिङ प्लेयर बने । प्रतियोगिताभरि कुल १३ गोल गरेका माया युनिभर्सका इबास बिकले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक माया युनिभर्सका जोरिस भान डोर्प घोषित भए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने आयोजक सेन्ट जेभियर्स स्कुलका सन्देश टुडु घोषित भए ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, आयोजक सेन्ट जेभियर्स स्कुलका सुपेरियर फादर जर्ज पीएम एसजे, स्कुल प्रिन्सिपल फादर विजयप्रताप टोप्पो लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments