News शानदार जितका साथ बीवाइएससी फाइनलमा
रमेश समदर्शी

दमक । शानदार जित हात पार्दै पाहुना टोली बीवाइएससी, अमेरिका यहाँ जारी प्रथम जय हुमागाई मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा शान्तिनगर फुटबल क्लब, सुनसरीलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै बीवाइएससी उपाधि नजिक पुगेको हो ।

बीवाइएससीका लागि रेने सान्टिलानले दुई गोल गरे । उनले खेलको ३३ र ४०औं मिनटमा लगातार गोल गर्दै पाहुना टोलीलाई खेलमा बलियो पकड दिलाएका थिए । खेलको ४७औं मिनटमा सुदिप तामाङले तेस्रो गोल थपे । त्यसको एक मिनट लगतै हेक्टर ओरटेजले चौथो गोल गरे । विपक्षीमाथि हावी बनेको बीवाइएससीका लागि ७५औं मिनटमा अनुज भट्टराईले पाँचौं गोल गर्दै अमेरिकी टोलीको सहज जित सुनिश्चित गरे ।

खेलमा दुई गोल गरेका बीवाइएससीका रेने सान्टिलान म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे । बीवाइएससीले अब उपाधिका लागि पौष १३ गते सहलेश युवा क्लब, सिराहासँग फाइनल खेल्नेछ ।

स्व. जय हुमागाई फेमिली एण्ड ट्रष्ट, अमेरिकाको आयोजना तथा बीवाइसी, झापाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments