News बागमती र रडस रामपुर अन्तिम चारमा
गोलनेपाल

बेशीशहर । बागमती युवा क्लब, सर्लाही र रडस रामपुर, चितवन यहाँ जारी ३०औं त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिवेणी रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा बागमतीले टोखा भगवती क्लब, काठमाडौं टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा बागमतीका आयुष राना म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को क्वाटरफाइनलमा रडस रामपुरले बिरगंज युनाइटेडलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । रडस रामपुरका लागि डिका सर्जे र सुरेश कुमालले गोल गरे । उता पराजित बिरगंजका लागि अमर डंगोलले गोल गरेका थिए । खेलमा रडस रामपुरका सुरेश कुमाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत पौष १७ गते आइतबारका दुई क्वाटरफाइनल खेलअन्तरगत साविक विजेता बुद्ध युथ क्लबले सामना युवा क्लबको सामना गर्नेछ भने सोसल वेलफेयरले नखिपोट क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिवेणी युवा क्लब, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल पौष १९ गतेका दिन हुने आयोजक क्लबका इन्द्र रानाले जानकारी दिए ।

 

Post Comments