News आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा
उमेश पुन

पोखरा । उपाधिको दावेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी २२औं आहा! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा आर्मीले संकटासँग ३–१ को हार बेहोर्दै निराश बन्न पुगेको हो । पोखरा रंगशालामा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा आर्मी पराजित हुन पुग्यो ।

खेलको १६औं मिनटमा नवयुग श्रेष्ठको पेनाल्टी गोलबाट आर्मीले अग्रता बनाए तापनि संकटाले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । ३६औं मिनटमा मेसुके ओलुमुले संकटाका लागि बराबरी गोल फर्काए ।

७४औं मिनटमा सुरज जिउ ठकुरीले संकटाका लागि दोस्रो गोल गरे । भर्खरै क्लबमा आवद्ध भएका ठकुरीको त्यो डेब्यु गोल पनि बन्यो । स्टेफन बिनङले इन्जुरी समयमा तेस्रो गोल गर्दै संकटाको उत्कृष्ट जित पक्का गरे ।

खेलमा संकटाका स्टेफन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष १९ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल बीवाइसी, मिनेसोटा, अमेरिका र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल पौष २३ गतेका दिन हुनेछ ।

Post Comments