News बगर भाई खलक भेट्रान कपमा ६ खेलहरु सम्पन्न
उमेश पुन

पोखरा । “प्रथम हिमालय ब्रुअरी प्रा.लि. तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स कप फुटबल प्रतियोगिता” अन्तर्गत दोश्रो दिन ६ खेलहरु सम्पन्न भएका छन् ।

बुधबार सम्पन्न खेलहरूमा लेक साइड भेट्रान, जोरपाटी भेट्रान काठमाण्डौ, फ्रिडम फाइटर बि काठमाण्डौ, गार्डेन एफसी पोखरा, नागासोती भेट्रान हेटौंडा, फ्रिडम फाइटर ए बिजयी भएका छन् ।

पहिलो खेलमा लेक साइड भेट्रान पोखराले पशुपती भेट्रान काठमाण्डौलाई ४–० ले पराजित गरेको छ । खेलका म्यान अफ दि म्याच समेत रहेका लेकसाइडका टेक बहादुर गुरुङले दुई गोल गर्दा नरेन्द्र आचार्य र मान बहादुर गुरुङले समान १–१ गोल गरे ।

फ्रिडम फइटर ए ले पोखरा भेट्रानलाई टाइव्रेकरमा २–० ले पाखा लगायो । निर्धारित समय सम्म दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाइ व्रेकरमा धकेलिएको थियो । फ्रिडमका लागि तिलक गुरुङ र पोखरा भेट्रानका लागि नरेश केसीले निर्धारित समयमा टिमका लागि गोल गरेका थिए । फ्रिडमका किपर मानकाजी गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

अर्को एक खेलमा फ्रिडम फाइटर बि ले सुनवल भेट्रान नवलपरासीलाई १–० गोलले हराएको छ । खेलको म्यान अफ दि म्याच समेत रहेका विकर्ण श्रेष्ठले उक्त गोल गरेका थिए ।

हेटौडाको नागासोती भेट्रानले वौद्ध भेट्रान काठमाण्डौलाई १–० गोलले पराजित गरेको छ । उक्त खेलमा नागासोतीका सन्तोष बस्नेत म्यान अफ दि म्याच घोषित भए। त्यस्तै दुई खेलमा भने जोरपाटी भेट्रान काठमाण्डौ र गार्डेन एफसी पोखराले वाक ओभर पाँउदा बिजयी भएका छन् ।

बगर भाई खलक, पोखरा, कास्कीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ ८ गतेका दिन हुनेछ ।

Post Comments