News २३औं बुढासुब्बा गोल्डकप फागुन १३ देखि (विज्ञप्तीसहित)
गोलनेपाल

धरान । पछिल्लो दुई वर्ष विविध कारणवश हुन नसकेको मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक बुढासुब्बा गोल्डकपको २३औं संस्करण आउँदो फागुन १३ देखि २० गतेसम्म हुने भएको छ । यो कुराको पुष्टी आयोजक धरान फुटबल क्लबले प्रेस विज्ञप्ती जारी गरी घोषणा गरेको हो ।

धरान रंगशालामा हुने प्रतियोगिता आयोजनाका लागि क्लबका अध्यक्ष किशोर राईको अध्यक्षतामा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । त्यस्तै धरानका विभिन्न स्थानीय तहहरु, सम्बन्धित व्यक्ति तथा संघसंस्थाहरुसँग आवश्यक छलफल गरी प्रतियोगिताबारे थप निर्णयहरु गर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरस्कार रकम लगायत अन्य विभिन्न कुराहरुबारे पनि पछि पत्रकार सम्मेलनको आयोजना गरी नै जानकारी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको २३औं संस्करणमा पनि स्वदेशी र विदेशी क्लबहरुको सहभागिता रहनेछ । यद्यपि टिमहरुको घोषणा भने पछि जानकारी गराइने बताइएको छ ।

गत संस्करणको विजेतालाई २३औं संस्करण शुरु हुनु अघि नै पुरस्कार दिईने

त्यस्तै आयोजक धरान फुटबल क्लबले २२औं संस्करणको विजेता तथा उपविजेता टोलीहरुलाई दिनुपर्ने पुरस्कार रकम २३औं संस्करण शुरु हुनु अघि नै दिने घोषणा पनि गरेको छ ।

स्मरण रहोस, गत संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लबले आफूहरुले २२औं बुढासुब्बा गोल्डकपको पुरस्कार रकम नपाएको भन्दै गत महिना सम्पन्न २२औं आहा! रारा पोखरा गोल्डकपमा धरान एफसीलाई सहभागि नगराउन एन्फालाई पत्राचार गरेको थियो ।

यो खबर विभिन्न सञ्चारमाध्यमहरुमा बाहिरिएपछि आयोजक धरान एफसीले चर्को आलोचना पनि खेपेको थियो । यद्यपि क्लबका अध्यक्ष किशोर राईले विभिन्न संघसंस्था र स्थानीय तहबाट पाउनुपर्ने रकम समयमै नपाएपछि र अन्य विविध कारणले पुरस्कार रकम दिन ढिलाई भएको बताएका थिए । साथै सो पुरस्कार रकम छिटै सम्बन्धित क्लबहरुलाई उपलब्ध गराउने पनि स्पष्ट पारेका थिए ।

२२औं संस्करणको विजेता मनाङ र उपविजेता विभागीय टोली नेपाल पुलिस क्लबले पुरस्का रकम पाउन बाँकी छ । जुन आयोजक धरान फुटबल क्लबले २३औं बुढासुब्बा गोल्डकप अघि नै दिने घोषणा गरेको छ ।

हेर्नुहोस विज्ञप्तीः

Post Comments