News प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड फागुन २३ गते हुने
गोलनेपाल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा वार्षिक रुपमा हुँदै आएको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यसवर्ष आउँदो फागुन २३ गतेका दिन हुने भएको छ । आयोजक पत्रकार मञ्चले सोमबार एक कार्यक्रमका बीच अवार्ड कार्यक्रमबारे जानकारी गराएको हो ।

अवार्ड कार्यक्रममा गत वर्ष नेपाली खेलकुद क्षेत्रमा विभिन्न खेलाडी तथा खेलकर्मीले पुर्याएको योगदानको आधारमा उनीहरुलाई अवार्डसहित सम्मान र पुरस्कृत गरिने आयोजक मञ्चले पत्रकार सम्मेलनमा जानकारी दियो ।

यस वर्ष पनि स्पोर्टस अवार्डमा नौ विधाहरु समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, उत्कृष्ट पारा खेलाडी, स्पेशल अवार्ड र लाईफटाईम अचिभमेण्ट अवार्ड रहेका छन् ।

उत्कृष्ट हुने पुरुष, महिला, प्रशिक्षक तथा पिपल्स च्वाइस अवार्डका विजेतालाई पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिनेछ । त्यस्तै यसवर्षदेखि उत्कृष्ट युवा खेलाडीलाई पनि पल्सर बाइक प्रदान गरिने आयोजक मञ्चले जानकारी दियो । अन्य विधातर्फका विजेताहरुले भने नगद ५० हजार हात पार्नेछन् ।

त्यसैगरी एसियन जर्नलिस्ट अवार्डका रुपमा एक जना एसियाली खेलपत्रकारलाई पनि सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अवार्डलाई पल्सर कै साथ निरन्तर

त्यस्तै यसवर्ष पनि स्वोर्टस अवार्डको मुख्य प्रायोजकमा हंसराज हुलास चन्द एण्ड कम्पनी नै रहने भएको छ । एक कार्यक्रमका बीच मञ्च र कम्पनीबीच थप ५ वर्षको सम्झौता भयो ।

कम्पनीका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर र आदान–प्रदान समेत गरे । यो सम्झौतासँगै यसवर्ष पनि अवार्ड कार्यक्रमको नाम एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड रहनेछ ।

Post Comments