News सेन्ट्रल कलेज राप्ती एफसी माडी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

माडी । सेन्ट्रल कलेज राप्ती एफसी यहाँ जारी २४औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा राप्तीले मेजेस्टिक एफसी, बुर्किनाफासोलाई टाईब्रेकरमा ५–४ ले हराउँदै सेमिफाइनलमा पुग्ने चौथो टोली बन्न सफल भएको हो ।

त्यसअघि बसन्तपुर बजार स्थित खुला मैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ राप्तीका लागि योमीले पेनाल्टीबाट गोल गरेका थिए भने मेजेस्टिकका लागि सलोमनले गोल गरेका थिए ।

त्यस्तै मेजेस्टिक खेलको पहिलो हाफ मै दश खेलाडीमा खुम्चिन पुगेको थियो । सलोमनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि अफ्रिकी टोली दश खेलाडीमा सिमित बनेको थियो । यद्यपि राप्तीले निर्धारित समयमा त्यसको फाईदा उठाउन सकेन र टाईब्रेकरमा संघर्षपुर्ण जित निकाल्न सफल भयो ।

खेलमा राप्तीका योमी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । राप्तीले अब दोस्रो सेमिफाइनलतर्फ माघ १२ गतेका दिन चित्लाङ्ग फुटबल क्लब, काठमाडौंसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत माघ ११ गतेको पहिलो सेमिफाइनल खेल घरेलु टोली माडी–११ र केबिए ग्लोबल भरतपुर एफसीबीच हुने आयोजकले जानकारी दियो ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १४ गतेका दिन हुनेछ ।

Post Comments