News आयोजकलाई पाँचौं हिमालयन गोल्डकपको उपाधि
गोलनेपाल

काठमाडौं । हिमालयन फुटबल क्लब, मलेसियाद्वारा आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक हिमालयन फुटबल क्लबले नै जितेको छ । पानासोनिक रंगशालामा भएको फाइनलमा हिमालयनले रिया सुम्निमा एफसीलाई ३–० ले हराउँदै उपाधि जितेको हो ।

विजेता बनेको हिमालयनले उपाधिसहित नगद २५ हजार मलेसियन रिंगेट हात पार्यो भने उपविजेता रिया सुम्निमाले १० हजार रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ रिया सुम्निमाका बिशाल राई उत्कृष्ट गोलरक्षक बने भने आयोजक हिमालयनका कप्तान राजकुमार कुमाल सर्वोत्कृष्ट खेलाडी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार रोजेश श्रेष्ठले हात पारे ।

मलेसियामा रहेका आप्रवासी नेपालीहरुबीच सक्रिय र परिचित हिमालयन फुटबल क्लबले वार्षिक रुपमा आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष जनवरी २२ देखी शुरु भएको थियो । प्रतियोगितामा कुल १९ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।

समापन कार्यक्रममा आयोजक क्लबका अध्यक्ष कार्कीले प्रतियोगिता सफलताका सम्पन्न सहयोग गर्ने प्रायोजक, सहयोगी संघसंस्था, व्यक्तित्वहरुलाई पनि सम्मान सहित आभार प्रकट गरे । साथै आउने दिनहरुमा पनि उनले निरन्तर सबैको सहयोग र साथको अपेक्षा गरेको समेत बताए ।

 

Post Comments
Advertisement Yamaha Nepal