News लेबोरेटरीलाई किर्तिपुर प्याब्सन कपको उपाधि
गोलनेपाल

किर्तिपुर । फराकिलो जितका साथ यहाँ सम्पन्न किर्तिपुर प्याब्सन कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आयोजक लेबोरेटरी माविले जितेको छ ।

किर्तिपुर स्थित आयोजक स्कुलको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा लेबोरेटरीले ग्रीन भिलेज फाउण्डेशनलाई ८–१ को फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।

लेबोरेटरीका लागि रबिन बमजनले दुई गोल गरे भने विज्ञान खड्का, आकर्षण खत्री, रितिक पहडेरा, निशान बुढाथोकी, शुभम दहाल र बिष्णु चन्दले गोल गरे । उता पराजित ग्रीन भिलेजका लागि सम्पुर्ण थापाले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

लेबोरेटरीका निशान बुढाथोकी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिताभरि कुल १२ गोल गरेका लेबोरेटरी कै विज्ञान खड्काले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । पुष्पसदनका न्युसन खड्गी उत्कृष्ट फरवार्ड बन्दा फेयर प्ले पुरस्कार पञ्चरत्न स्कुलले हात पार्यो ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथी किर्तिपुर नगरपालिकाको उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता), किर्तिपुर नगर प्याब्सनका अध्यक्ष रबी भण्डारी र विशेष अतिथी काठमाडौं जिल्ला व्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट लगायतले पुरस्कृत गरेका थिए ।

लेबोरेटरी मावि, किर्तिपुर, काठमाडौंको आयोजनामा माघ १५ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ स्कुलका फुटबल टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments