News प्रतिष्ठित तिलोत्तमा गोल्डकप फागुन ८ देखि, विजेतालाई १० लाख
सुरज राना मगर

बुटवल । मोफसल कै पुरानो र प्रतिष्ठित मध्ये एक तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको २२औं संस्करण यहि आउँदो फागुन ८ गतेदेखि शुरु हुने भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उप–महानगरपालिकाको संरक्षकत्वमा हुन गईरहेको प्रतियोगिताको विजेताले यसपटक उपाधिसहित नगद १० लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसैगरी व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरुले पनि जनही ३०–३० हजार नगद र ट्रफी प्राप्त गर्ने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार) ले बताए ।

प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड पाँच लाख ९१ हजार ८ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । बुटवल, देवीनगर स्थित एन्फा कम्प्लेक्समा आयोजना हुने प्रतियोगितामा यसपटक नेपाली र विदेशी गरी कुल १० टोलीहरुको सहभागिता रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

स्मरण रहोस, गत बर्ष भएको प्रतियोगिताको २१औं संस्करणको उपाधि दाउफिन्स क्लब, क्यामरुनले जितेको थियो । त्यतिबेला फाइनलमा दाउफिन्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो ।

Post Comments