News खुम्बु ल्होसार कप शुरु, आमाडब्लम र ठमिछोवा विजयी सुरुवात
गोलनेपाल
काठमाडौं । “खुम्बु ल्होसार कप“ फुटबलमा आमाडब्लम युवा क्लब र ठमिछोवा युवा क्लबले सुखद् सुरुवात गरेका छन । सानोगौचरण खेलकुद मैदानमा सम्पन्न पहिलो खेलमा आमाडब्लम युवा क्लबले खुम्जुङ युवा क्लबलाई पराजित गर्यो ।
 
शनिबारबाट सुरु भएको पहिलो खेल निकै प्रतिस्प्रधात्मक र रोमाञ्चक बनेको थियो । निर्धारीत समयमा कुनै पनि टिमले नतिजा आफ्नो पक्षमा पार्न सकेनन । ट्राईब्रेकरमा धकेलिएको खेलमा खुम्जुङ युवा क्लबलाई पराजित गर्दै आमाडब्लमले विजयी हासिल गरेको हो । खेलको म्यान अफ द म्याच पासाङ नुरु शेर्पा चुनिए ।
 
यस्तै, आजै भएको अर्को खेलमा ठमिछोवा युवा क्लबले विजयी सुरुवात गरेको छ । नाम्चे युवा क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै ठमिछोवा क्लबले बाजी मारेको हो । ठमिछोवाका लागि एक मात्र निर्णायक गोल ग्यालजेन शेर्पाले गरे । ग्यालजेन नै खेलको म्यान अफ द म्याच बनेका छन ।
 
खुम्जुङ युवा क्लबद्वारा शनिबारदेखि आयोजित प्रतियोगित फाल्गुण ६ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँको ज्ञानेश्वरमा अवस्थित सानोगौचरण खेलकुद मैदानमा संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ खेल हुनेछन ।
 
शेर्पा समुदायको महान् चाड अर्थात् नयाँ वर्ष – ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि यो प्रतियोगिता आयोजना हुदैँ आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका – खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
 
 
 
 
 
Post Comments