News डिएमसीलाई पाँचौं सञ्जिवनी कपको उपाधि
सुरज राना मगर

बागधुरा । यहाँ सम्पन्न पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि डिएमसी, तुल्सीपुरले जितेको छ । मंगलबार भएको उपाधि भिडन्तमा डिएमसीले देवदह ब्वाईज, ढेकावरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको फाइनल भिडन्तमा डिएमसीका लागि कप्तान जिवन सुवेदी र अरुण चौधरीले १–१ गोल गरे । डिएमसीका कप्तान जिवन सुवेदी फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए ।

विजेता बनेको डिएमसीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता देवदहले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । डिएमसीका प्रविन थापा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । देवदवहका नविन थापा उत्कृष्ट गोलरक्षक बन्दा नर बहादर थापा सर्वाधिक गोलकर्ता बने ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्विन पौडेल, आयोजक सञ्जिवनी युवा क्लबका अध्यक्ष अर्जुन केसी (हापु), आर्थिक संयोजक इन्द्र छन्त्याल, खेल संयोजक खिम थापा लगायतले पुरस्कृत गरेका थिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा गत माघ १६ गतेदेखि शुरु प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments