News मनाङ मकवानपुर गोल्डकपको सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार पिप्ले क्याम्पा रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा मनाङले घरेलु टोली रिगल रिसोर्ट हेटौडा मकवानपुर–११ लाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । मनाङले पहिलो हाफ मै गरेको दुई गोल जितका लागि प्रर्याप्त बन्यो ।

खेलको ११औं मिनटमा सुमित श्रेष्ठको गोलबाट मनाङले अग्रता लिएको थियो । ४०औं मिनटमा भर्खरै मनाङमा आवद्ध भएका पूर्व बार्सिलोनाका खेलाडी डिग्नेले क्लबका लागिडेब्यु गोल गरे । उता पराजित मकवानपुरका लागि ५३औं मिनटमा साहिदले गोल फर्काए तापनि घरेलु टोलीको हार टार्न सकेनन् ।

खेलमा मनाङका कमल थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ६ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल हिमालयन शेर्पा क्लब र फ्रेण्डस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Post Comments