News सुवासको ह्याट्रिकसँगै गोर्खा ब्वाईज क्वाटरफाइनलमा
गोलनेपाल

दियोबजार । फराकिलो जितका साथ गोर्खा ब्वाईज स्पोर्टस क्लब यहाँ जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा गोर्खा ब्वाईजले कपिलवस्तु–११ माथि ६–१ को फराकिलो जित निकाल्यो ।

कञ्चन–४, दियोबजार स्थित स्थानीय खेलमैदानमा भएको खेलमा गोर्खा ब्वाईजका लागि सुवास बम एक्लैले ह्याट्रिकसहित चार गोल गरे । थप दुई गोल भने शिव बोटे र बिनोद केसीले गरे । उता कपिलवस्तुका लागि निरज थापाले एक मात्र गोल फर्काए । खेलमा चार गोल गरेका गोर्खा ब्वाईजका सुवास बम म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन ९ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल बिपी भैरव एफसी, नवलपरासी र केबिए ग्लोबल भरतपुर एफसी, चितवन बीच हुने खेल संयोजक शंकर थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना तथा कञ्चन गाउँपालिका, रुपन्देहीको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन २० गतेका दिन हुनेछ ।

Post Comments