News आर्मी र मच्छिन्द्र सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब यहाँ जारी प्रथम केपी ओली कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेल तथा दोस्रो क्वाटरफाइनलतर्फ आर्मीले न्युरोडटिम (एनआरटी) लाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । एन्फा कम्प्लेक्समा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि टाईब्रेकरमा आर्मीले नतिजा आफ्नो पक्षमा पारेको हो ।

एनआरटीका लागि खेलको ३२औं मिनटमा ललमिनजामाले शुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाए तापनि दोस्रो हाफको ५३औं मिनटमा दिपक गुरुङ्गले आर्मीका लागि बराबरी गोल फर्काएका थिए । 

खेलमा आर्मीका गोलरक्षक विकेश कुथु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ हजार र ट्रफी हात पारे ।

त्यस्तै दिनको दोस्रो खेल तथा तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले चर्च ब्वाईजलाई युनाइटेडलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । मच्छिन्द्रका लागि १६औं मिनटमा सुजल श्रेष्ठले गोल गरे भने ३९औं मिनटमा रन्जित धिमालले दोस्रो गोल गरे । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो ।

उता चर्च ब्वाईजले भने मच्छिन्द्रको आत्मघाती गोल उपहार पाएको थियो । ६६औं मिनटमा छिरिङ गुरुङ्गले आत्मघाती गोल गर्दै चर्च ब्वाईजले खेलमा फर्कने अवसर पाएको थियो । तर सफल भएन् ।

खेलमा मच्छिन्द्रका सुजल श्रेष्ठ म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद १५ हजार र ट्रफी हात पारे ।

 प्रतियोगिता अन्तरगत फागुन १३ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल जावलाखेल युथ क्लब र आयोजक केपी एफसीबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १७ गतेका दिन हुनेछ ।

Post Comments