News नेपालको मुख्य प्रशिक्षकमा भिन्सेन्जो नियुक्त
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिसलाई नियुक्त गरेको छ । एन्फाको बुधबार बसेको चौथो कार्यसमिति बैठकले ३८ वर्षिय भिन्सेन्जोलाई नियुक्त गरेको हो ।

तत्कालिन मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीले पद छाडेपछि टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो । बीच–बीचमा अन्तरिम प्रशिक्षक आए तापनि मुख्य प्रशिक्षक नियुक्त गरिएको थिएन । एन्फाले मुख्य प्रशिक्षक पदकै लागि खुला दरखास्त आह्वान समेत गरेको थियो ।

एन्फाका अनुसार उक्त पदका लागि १६८ जनाको आवेदन परे तापनि शर्टलिस्टमा २० जनालाई छानिएको थियो । त्यसैमध्येबाट भिन्सेन्जोलाई नियुक्त गरिएको हो ।

युइएफए प्रो लाइसेन्स प्रशिक्षक समेत रहेका भिन्सेन्जोले इण्डियन सुपर लिग क्लब नर्थ इस्ट युनाइटेडको जिम्मेवारी पनि सम्हालिसकेका छन् । त्यस्तै उनले अर्को भारतीय क्लब गोकुलम केरलाको प्रशिक्षकीय जिम्मेवारी सम्हाल्दै टोलीलाई दुईपटक लिग उपाधि समेत जिताईसकेका छन् ।

त्यसबाहेक उनले उत्तर अमेरिकी देश बेलिजेको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्नुका साथै अन्य विभिन्न देशहरुको क्लबहरुको प्रशिक्षकीय नेतृत्व पनि सम्हालि सकेका छन् । र, अनुभवी प्रशिक्षकका रुपमा पनि हेरिएको छ ।

 

Post Comments