News फोर ब्रदर्शलाई कञ्चन कपको उपाधि
सुरज राना मगर

दियोबजार । साँघुरो जितका साथ यहाँ सम्पनन कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फोर ब्रदर्श एफसी, नवलपरासीले जितेको छ । रुपन्देहीमा फोर ब्रदर्शको यो लगातार दोस्रो उपाधि समेत हो । फोर ब्रदर्शले यही फागुनको शुरुवाततिर ठुटिपिपलमा सम्पन्न १०औं नवयुवा कपको उपाधि पनि जितेको थियो ।

शनिबार कञ्चन–४, दियोबजार स्थित हिमालय रंगशालामा भएको फाइनल भिडन्तमा फोर ब्रदर्शले नेपालगञ्ज–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै च्याम्पियन बनेको हो । फोर ब्रदर्शका लागि बिनोद केवटले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता नेपालगञ्जले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फतर्फ फोर ब्रदर्शका राहुल मुखिया उत्कृष्ट गोलरक्षक घोषित भए । उत्कृष्ट डिफेन्डर नेपालगञ्जका प्रविन सुनार बन्दा उत्कृष्ट मिडफिल्डर र उदीयमान खेलाडीको पुरस्कार नेपालगञ्ज कै भुपेन्द्र शाहीले हात पारे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने गोर्खा ब्वाईज स्पोर्टस क्लबका सुवास बमले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५५–५५ सयसहित ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, आयोजक हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारका अध्यक्ष प्रकाश थापा, खेल संयोजक शंकर थापा लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments