News २२औं तिलोत्तमा गोल्डकप चैत्र ४ देखि
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला कै गरिमा र पहिचान बनेको प्रतिष्ठित तिलोत्तमा गोल्डकपको २२औं संस्करण आउँदो चैत्र ४ गतेदेखि हुने भएको छ । प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक रुपन्देही जिल्ला फुटबल संघले सो कुराको जानकारी दिएको हो ।

बुटवल, देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको जानकारी समेत दियो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टर कै मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।

यशोदा फुडस प्रा.लि. तथा त्रिमुर्ती इण्डष्ट्रिज प्रा.लि. को मुख्य प्रायोजन रहने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख वा एक थान मोटरसाईकल प्राप्त गर्ने संघका उपाध्यक्ष मुकेश कुँवरले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारहरुको व्यवस्था गरिएको उपाध्यक्ष कुँवरले जानकारी दिए ।

प्रतियोगितामा आयोजक टोली र ए डिभिजन क्लबहरुसँग कुल ८ टोलीहरुको सहभागिता रहने पनि संघका महासचिव हिमाल गौचनले जानकरी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ८ लाख खर्च हुने पनि महासचिव गौचनले बताए ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको प्रतियोगिता कोरोना महामारीका कारण केही वर्ष रोकिएको थियो । प्रतियोगिताको २१औं संस्करण दाफिन्स एफसी, क्यामरुनले जितेको थियो ।

 

 

Post Comments