
बुटवल । साँघुरो जितका साथ थ्रीस्टार क्लब जारी २२औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलको ८२औं मिनटमा दिपेश गुरुङले बक्स बाहिरबाट गरेको सटिक प्रहार गोलमा परिणत हुँदा थ्रीस्टारले अन्तिम चारको यात्रा तय गर्न सफल भयो । खेलमा शेर्पाले पनि गोलको केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा निराश बन्न पुग्यो ।
खेलमा थ्रीस्टारका लाकेन लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे ।
प्रतियोगिता अन्तरगत चैत ६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल फ्रेण्डस क्लब र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।