News माई र आयोजक इलाम पालिकास्तरीय फुटबलको सेमिफाइनलमा
रमेश समदर्शी

इलामको नेपालटारमा जारी प्रथम पालिकास्तरीय फुटबल प्रतियोगितामा माई नगरपालिका र आयोजक क्लब सेमिफाइनमा प्रवेश गरेका छन् ।

आज (सोमबार) भएको पहिलो खेलबाट आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । स्पर्धी रोङ गाउँपालिकालाई ३-० गोलअन्तरले पराजित गरेको हो । आयोजकका लागि विदेशी खेलाडी नेपोलियनले २ गोल गरे भने सूर्य टुडुले एक गोल गरे । आयोजकका नेपोलियनले खेलको १३औँ मिनेटमा पहिलो गोल गरेका थिए । उनैले दोस्रो हाफको १७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए भने सूर्य टुडुले २८औँ मिनेटमा गोल गर्दै फराकिलो अन्तर निकाले ।

साखेजुङ खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको आजकै दोस्रो खेलमा माई नगरपालिकाले सडनडेथबाट जित निकालेको छ । माईले उपाधिको दाबेदार मानिएको सूर्योदय नगरपालिकालाई ८-७ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्णय लिनका लागि रोजिएको टाइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो । टाइब्रेकरमा माईका सुदिप मगरको प्रहार सूर्योदयका गोलरक्षक सार्जन लिम्बूले रोकेका थिए । तर, उसका कप्तान सनिन बाइवाको प्रहार बाहिरिएपछि बराबरी भएको थियो ।

यसैबीच, सूर्योदयका नवराज राईको प्रहार माईका गोलरक्षक निशाम दनुवारले रोकेपछि जित निश्चित बनेको थियो । माईका लागि कप्तान विमल साउदेन, आयुश बुढाथोकी, सुशन राई, सन्दिप राई, सुजन तामाङ, सरोज लाओती, प्रविन लिम्बू र भिष्म लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । यसैगरी, सूर्योदयका लागि गोलरक्षक सार्जन लिम्बू, सौरभ कार्की, दिवश खापुङ, आयुश तिम्सिना, शेखर राई, पुजन मगर र समिर तामाङको प्रहारमात्र गोलमा परिणत भएको थियो । यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ ।

Post Comments